लुभूको परिचय 

लुभु,महालक्ष्मी नगरपालिका वडा नं. ८ भित्र सञ्चालित ४ ओटा खानेपानी आयोजनाहरु मध्ये यो सबै भन्दा बढी उपभोक्ताहरु रहेको संस्था हो । बितरणलाई स्वच्छ, सफा र सुद्ध गराई मात्र पानी आपूर्ति गर्ने यस संस्थाको लक्ष्य रहेको छ । बर्षात्को समयमा खोलाको पानी धमिलो हुने हुँदा त्यस समयमा पानी आपूर्तिमा अनियमित हुन सक्छ । यस्तो अबस्थामा प्राकृतिक कारण सम्झी धैर्यधारण गरी सहयोग गरि दिनु हुन अनुरोध छ । संस्थालाई हालको उन्नत स्थितिमा पु–याउन सहयोग गर्नु हुने तत्कालिन लुभु गाउँ बिकास समिति, महालक्ष्मी नगरपालिका, तत्कालिन भू–संरक्षण डिभिजन कार्यालय नंं. ६ भक्तपुर, भू तथा जलाधार कार्यालय ललितपुर जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय ललितप्ुर, बृहत जलाधार ब्यबस्थापन आयोजना कास्की, माननीय सांसद श्री कृष्णलाल महर्जन ज्यू, ललितपुर नगर बिकास आयोजना शहरी बाताबरण ब्यबस्थापन समाज ( यूम्स ) अक्सफाम नेपाल, फ्रेन्स सर्भिस काउन्सिल नेपाल, डिभिजन खानेपानी तथा सरसफाई कार्यालय भक्तपुर, संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना हेटौडा एवं सम्पूर्ण उपभोक्ताहरुमा आभार ब्यक्त गर्न चाहन्छु ।

ऐतिहाँसिक बस्ती लुभु ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ८ मा अबस्थित रहेको छ । अधिकांश नेवार जातिको बसोबास रहेको लुभुको पुरानो नाम लुँम्हु रहेको छ । नेवारी भाषामा लुँ को अर्थ सुन र म्हु को अर्थ छत्र याने लँुम्हुको पूर्ण रुप सुबर्ण छत्र हो । त्यसैले लुँम्हुलाई सुवर्ण छत्र वा सुवर्ण छत्रपुर पनि भन्ने गरिन्छ । महामारीको बेला छत्रपाल भैरबले सुनको छत्तरीले ओढाएर लुभुका बासिन्दालाई महामारी रोगबाट बचाउने गरिने भएबाट यसलाई सुवर्ण छत्र वा सुवर्ण छत्रपुर पनि भन्ने अर्को कथन पनि छ । यही लुँम्हुबाट अपभ्रंश हुँदै हालको बर्तमान नाम लुभु रहन गएको अनुमान गरिएको छ । यस बस्तीको पूर्वमा जंगल सहितको पहाड रहेको छ भने पश्चिममा उत्तर बाहिनी गोदावरी खोला, उत्तरमा सन्डोल खोला र दक्षिणमा लुभु खोलाले घेरिएर रहेको छ । यस बस्तीलाई पानी आपूर्तिको लागि १८ वटा सार्वजनिक इनार र ४ वटा ढुङ्गे धाराको ब्यब्स्था गरिएको छ । पानीको ताजकीकरण ( च्भअजबचनभ ) गर्न ९ वटा पोखरी तथा बस्तीको बिचैेबिच राजकुलोको बहावको ब्यबस्था गरेको पाईन्छ । जलवायु परिवर्तन तथा जनसंख्याको बृद्धि एवं मानिसले पानीको प्रयोग गर्ने बानीमा आएको परिवर्तनको कारण परम्परागत पानी आपूर्तिको ब्यबस्थाबाट आबश्यक पानीको आपूर्तिमा कमी हुन गई थप श्रोतको आबश्यक हुन गयो । साथै पानी आपूर्तिको बिकसित तौर तरिकालाई अपनाई प्रत्येक घरमा निजि धाराको आबश्यक्तालाई परिपूर्ति गर्न तत्कालिन गाउँ बिकास समितिमा संलग्न सर्वदलिय राजनैतिक संयन्त्रबाट बि. स. २०६८ साल बैशाख ९ गते यस उपभोक्ता संस्था गठन गरियो ।
सुरुमा लुभु खोलामा ईन्टेक निर्माण गरी ल्याएको पानीलाई शुद्धीकरण गरी खान योग्य बनाईयो । धेरै बर्षसम्म पनि नेपाल सरकारको कार्यक्रममा समाबेश गराउन नसके पनि स्थानिय निकायबाट प्राप्त थोरै रकम र उपभोक्ताहरुबाट संकलन गरको रकमबाट अति आबश्यक पूर्बाधारहरु निर्माण गर्ने काम गरियो । र मिति २०७१ साल असार १९ गते देखि निजि धारा बितरण गर्ने काम सुरु गरियो । हाल सम्म करिब १४०५ घरधुरीमा निजि धारा बितरण गर्ने काम सम्पन्न गरिएको छ । धाराको ब्यापक माग भए पनि पानीको श्रोतको कमीको कारण माग अनुसार धारा जडान गर्न सकिएको छैन । पानीको श्रोत खोला भएको कारण बर्षामा पानी धमिलो हुने भै प्रशोधन केन्द्रले छान्न नसक्ने कारण बाहिर फाल्नु पर्ने अबस्था हुन्छ भने सुख्खा याममा पानी सुक्न गै आबश्यक पानी पाउन कठिन हुने परिस्थिति रहेको छ । आषाढ, साउन, भाद्र महिनामा अधिक बर्षा हुँदा पानी धमिलो हुने गरेको छ । असोज, कार्तिक, मंसिर महिनामा खोलामा पानीको मात्रा पुग्ने नै हुन्छ भने पौष, माघ, फाल्गुण महिनामा खोलामा आबश्यकता भन्दा कम
करिब ७० प्रतिशत पानी मात्र आउँछ । त्यस्तै चैत्र, बैशाख, जेठ महिना सुख्खा याम हुने र उपभोक्ताहरुलाई एकदिन बिराएर मात्र पानी आपूर्ति गर्न सकिने अबस्था रहेको छ । उपभोक्ताहरुलाई स्वच्छ शुद्ध पानी नियमित रुपमा आपूर्ति गर्ने लक्ष्य लिएको भए तापनि खोलाको पानीले उक्त लक्ष्य प्राप्त गर्न सक्ने अबस्था नभएको हुँदा नियमित पानी आपूर्तिको लागि डीप बोारिङ्ग एक मात्र बिकल्प रहेको छ । यसै लक्ष्य परिपूर्ति गर्न यस संस्थामा २ वटा डीप बोारिङ्ग सञ्चालनमा रहेका छन् । यस स्थानमा बसाई सराईको ब्यापक रुपमा बृद्धि तथा पानी प्रयोेग गर्ने बानीले पानी आपूर्तिमा सँधै कमी नै रहेको छ । डीप बोारिङ्गबाट अल्पकालिन समाधान मात्र हुने भए पनि थप डीप बोारिङ्ग गर्नु अत्याबश्यक भएको छ । लाकुरी भन्ज्याङमा बगेको छामछुम खोलाको पानीलाई ब्यबस्थित गरी ल्याउन सके केही बर्षको लागि पानीको आबश्यकता पूर्ति गर्न सकिन्छ । धाराको मागलाई दृष्टिगत गर्दा दीर्घकालिनसम्म दिगो समाधानको लागि मेलम्चीको याङ्ग्री र लार्के खोलाको पानीलाई नै कुर्नुपर्ने आबश्यकता छ ।

सल्लाह–सुझाव एवं गुनासो